हुप्सेकोट गाउँपालिकाभर पहिरोको जोखिम
पहाडी भूगोल भएको यस गाउँपालिकामा जमिन चिरा चिरा पर्ने र धाँजा फाट्ने समस्याका कारण प्राकृतिक विपत्को जोखिम बढ्दै गएको छ। गाउँपालिकाको पहाडी क्षेत्रमा पहिरोको जोखिम र समथर भूभागमा नदी कटानको समस्या देखिएको छ। यहाँका सबै छ वडामा पहिरोको उच्च जोखिम रहेको छ।
No Author Assigned | २०८१ भदौ १ गते २३:४७
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सबै वडा पहिरोको उच्च जोखिममा परेका छन्।
पहाडी भूगोल भएको यस गाउँपालिकामा जमिन चिरा चिरा पर्ने र धाँजा फाट्ने समस्याका कारण प्राकृतिक विपत्को जोखिम बढ्दै गएको छ। गाउँपालिकाको पहाडी क्षेत्रमा पहिरोको जोखिम र समथर भूभागमा नदी कटानको समस्या देखिएको छ। यहाँका सबै छ वडामा पहिरोको उच्च जोखिम रहेको छ।
राम्चे, पिपलडाँडा क्षेत्रको अरुण खोला, केरुङ्गे खोला र गिरुबारी खोलाको मुहानमा पहिरो जाँदा कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्र डुबान र कटानको जोखिममा पर्ने देखिएको छ। राम्चेमा पहिरोको डरले ४० घरपरिवार बर्खा लागेसँगै त्रसित बनेका छन्। स्थानीयहरूले बर्सेनि सानाठुला पहिरो जान थालेपछि डाँडो खस्ने खतरा बढेको बताएका छन्। हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाका अनुसार, २०३८ सालमा काउले बस्ती नै विस्थापित गर्ने गरी गएको राम्चे पहिरो अहिले पनि क्षेत्रका बस्तीहरूमा त्रासको कारण बनेको छ। वडाध्यक्ष रानाले पहिरोका कारण बासिन्दाहरू सधैं त्रासमा बस्न बाध्य रहेको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले राम्चे पहिरोका कारण १६० घरधुरी उच्च जोखिममा रहेको र जुनसुकै बेला पहिरो जाँदा धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रदेश र सङ्घमा ताकेता गरिएको बताए ।
२०७८ असार २३ मा आएको वर्षाले वडा नम्बर ५ को वाकखोरका १८ घरपरिवार विस्थापित भएका थिए भने भदौ ११ गतेको वर्षामा चारघरेमा एकै परिवारका तीनजनाको पहिरोमा परी ज्यान गएको थियो। विस्थापित परिवारहरू जुकेपानी सामुदायिक वनको अस्थायी टहरामा बस्न बाध्य छन्, जहाँ उनीहरूले दैनिकी गुजार्दै आएका छन्।
Facebook Comments