भरतपुर महानगरद्वारा चाडपर्व लक्षित पोषाक खरिद रोक्न निर्देशन
महानगरको शिक्षा शाखाका अधिकृत ऋषिराम शर्माका अनुसार विभिन्न चाडपर्वका बेला विद्यालयहरूले विद्यार्थीलाई विशेष पोषाक खरिद गर्न लगाउने गरेको गुनासोका कारण यो निर्णय लिइएको हो।
No Author Assigned | २०८१ भदौ १० गते २१:२३
भरतपुर महानगरपालिकाले विद्यालयहरूलाई चाडपर्व लक्षित पोषाक खरिद गर्न बाध्य नगर्न निर्देशन दिएको छ। महानगरले विद्यालयहरूलाई पत्राचार गर्दै चाडपर्वका अवसरमा विद्यार्थीलाई फजुल खर्च गराएर पोषाक खरिद गर्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न निर्देशन दिएको हो।
महानगरको शिक्षा शाखाका अधिकृत ऋषिराम शर्माका अनुसार विभिन्न चाडपर्वका बेला विद्यालयहरूले विद्यार्थीलाई विशेष पोषाक खरिद गर्न लगाउने गरेको गुनासोका कारण यो निर्णय लिइएको हो। शर्माले विद्यालयहरूले नमूनाका रूपमा आवश्यक पोषाक उपलब्ध गराएर शिक्षण सिकाइ गर्न सक्ने बताए।
निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन चितवनका अध्यक्ष कृतिनिधी अर्यालले धर्म र संस्कृतिसँग सम्बन्धित पोषाकको प्रयोग शिक्षण सिकाइमा सहयोग पुर्याउने भएकाले यसलाई फजुल खर्चका रूपमा नबुझ्न आग्रह गरे। महानगरले विद्यालयहरूको नयाँ भर्ना र विदाइका लागि होटल तथा पार्टी प्यालेसमा हुने फजुल खर्च रोक्न, स्थानीय पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्न, र बाहिर नाटक तथा फिल्म हेर्नका लागि विद्यार्थीबाट शुल्क नउठाउन समेत निर्देशन दिएको छ।
पाँच बुँदे पत्रमा शिक्षा ऐन २०२८ र नियमावली २०५९, तथा भरतपुर महानगर शिक्षा ऐन २०७५ विपरीत कुनै शुल्क नलिन विद्यालयहरूलाई आग्रह गरिएको छ।
Facebook Comments