काठमाडौंमा यःसिं नगर प्रवेश: परम्परागत विधिबाट अगाडि बढ्दै इन्द्रजात्राको तयारी

कायाअष्टमिका दिन भोटाहिटीमा राखिएको यःसिंलाई बिहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको छ।

No Author Assigned | २०८१ भदौ २६ गते २२:५७
Image of storage/news/1726052456.jpg

कायाअष्टमिका दिन भोटाहिटीमा राखिएको यःसिंलाई बिहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको छ। यःसिंलाई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका स्थित कागेश्वर मन्दिर नजिक लगेर राखिएको छ। यस क्रममा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग सहभागी थिए।

 

एकादशीका दिन चसांद्व टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँध्ने परम्परा रहेको छ, जसलाई 'वलः घायेगु' भनिन्छ। यो प्रक्रिया यःसिं उठिसकेपछि देवताको रूपमा पूजित हुने भएकोले अत्यन्तै जटिल मानिन्छ। भदौ ३० गते आइतबार, द्वादशीका दिन विहान ८ बजेर २६ मिनेटको साइतमा परम्परागत विधिबाट यःसिं उठाइनेछ। यसमा न्हय्सः नायः र चसांद्वका मानन्धरहरूको अनिवार्य सहभागिता हुनेछ।

यस वर्षको वृक्ष कर्तन शुक्ल दुतियाको दिन विहान १० बजेर ३२ मिनेटको साइतमा सुरु गरिएको थियो। सांकेतिक रूपमा सुनको र चाँदीको बञ्चरोले रुख काट्दै गुर्जुको पल्टनले सलामी दिएको थियो। वृक्ष कर्तनपछिको दिन यःसिंलाई मानन्धर समुदायले तानेर भोटाहिटी ल्याएका थिए, जहाँ मल्लकालीन मण्डला पुनःस्थापन गरिएको छ।

यो परम्परागत यःसिं उत्सव इन्द्रजात्राको महत्वपूर्ण अंग हो, जसमा काठमाडौंका बासिन्दाहरूले श्रद्धा र उत्साहका साथ सहभागीता जनाउँछन्।


Facebook Comments