चापाकोटका छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बिमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए ।
उनले भने, ‘नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा अभियानमा आबद्ध बनाइ स्वास्थ्य सेवालाई अति विपन्न वर्गको पहुँचसम्म पुर्याउने निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हौँ ।’
नगरपालिकाले चालु आर्थिक वर्षमा अति विपन्न समुदायको स्वास्थ्य बिमा गर्न २५ लाख ६० हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटबाट पहिलो चरणमा छ सय परिवारको बिमा गरिएको र दोस्रो चरणमा अपाङ्गता भएका र अन्य विपन्न गरी एक सय २५ जनाको बिमा गरिदिने नगरपालिकाले जनाएको छ ।
Facebook Comments