तुलसीपुर उपमहानगरमा जग्गा नाप नक्साङ्कनको काम पुनः सुरु
पालिकामा २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका हो ।
तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६ मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्साङ्कन सम्पन्न भएको बताए । उनका अनुसार वडा नं ६ मा करिब ७५ प्रतिशत नाप नक्साङ्कनको काम सकिएको छ ।
राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई मध्यनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाएको बताए। अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नाप नक्साङ्कनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिने बताए । जिल्लाको शान्तिनगर, बबई, राप्ती र राजपुर गाँउपालिकामा जङ्गल क्षेत्रभित्र भूमिहीन दलित, सुकुम्बासीले वर्षौदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नाँपजाँचमा समस्या देखिएको बताए।
उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले पालिकाभित्र अहिले २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको जानकारी दिए। भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपूर्जा वितरण गरिने उन बताए ।
Facebook Comments