प्रधानमन्त्रीको उत्तेजनापूर्ण अभिव्यक्ति मानव अधिकार विपरीत छ: मानव अधिकार आयोग


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले गर्न लागेको आन्दोलनलाई इंगित गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति मानव अधिकारको मूल्यमान्यता विपरीत भएको उल्लेख गरेको हो ।
प्रधानमन्त्रीले राजतन्त्र समर्थकको जेठ १५ गतेदेखि हुने जनआन्दोलनलाई इंगित गर्दै जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै आयोगले कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरीत हुने जनाएको छ ।
जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुने आयोगको भनाइ छ ।
आयोगले जिम्मेवार व्यक्तिले आफनो अभिव्यक्ति दिदा संथमित हुन, अरु व्यक्ति, समूह वा पाटी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध पदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्षलाई आग्रह समेत गरेको छ ।
Facebook Comments