सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अदालतको आदेश
मेयरसाप डेस्क
|
२०८२ जेठ १२ गते २१:५९
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतले पोखरास्थित इमेज सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा नेपालीलाई थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यसअघि जिल्ला कारागार बागलुङमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार ९ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा चलाएको थियो । नेपालीले बागलुङमा मुख्य कार्यालय र पोखरामा शाखा रहेको इमेज सहकारीमा जम्मा गरिएको दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप लागेको छ।
यसअघि बहुचर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि जोडिएका उनलाई जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। गत बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो। तर, उनले धरौटी बुझाएका छैनन् । नेपाली हाल बागलुङ जिल्ला कारागारमा छन् ।
Facebook Comments