ललितपुर महानगर: १० महिनामा ५३ प्रतिशत बजेट खर्च, डुंगा खरिददेखि अपाङ्गमैत्री लिफ्ट सञ्चालनसम्मकाे तयारी


ललितपुर । मेयर बनेका केही वर्ष ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन ‘ललितपुर महानगरपालिकालाई देशकै सुन्दर नगरको रुपमा चिनाउँछौं’ भनेर भाषण गर्थे । यही भाषणले जनतासँग मत मागेर गएकाे सात वर्षदेखि ललितपुर महानगर हाँकिरहेका महर्जनको पालिकामा याे वर्ष पनि बजेट खर्च भने अपेक्षा गरेजस्ताे देखिँदैन । तर पनि ललितपुर अन्य पालिकाकाे तुलनामा केही फरक छ । नेपाल सरकारले ललितपुर महानगरपालिकालाई ‘आइसीटि अवार्ड २०२५’ बाट विभूषित गरेको छ । संस्कृतिको श्रीवृद्धिमा उल्लेखनिय कार्य गरेको भन्दै बागमती प्रदेशले ‘संस्कृति दिप’ पुरस्कार र नेपाल नगरपालिका संघले ललितपुर महानगरलाई ‘उत्कृष्ट नगरपालिका’ घोषणा गरेको छ । खास्सै चर्चामा नआउने, सञ्चार माध्यममा कम देखिने चिरीबाबु महर्जनको कामलाई प्रदेश सरकार, केन्द्र सरकार र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाले भने राम्रै भनेर मूल्यांकन गरेका छन् ।
‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ यो ललितपुर महानगरपालिकाको नारा हो । नारा अनुसार नै महानगरपालिकाले सम्पदा तथा संस्कृति सम्वद्र्धन, विपद व्यवस्थापन, सामाजिक क्षेत्रको विकास, नागरिकहरुको स्वास्थ्य क्षेत्रमा सहज पहुँच, उद्योग, सहकारी, हस्तकला, पर्यटन जस्ता आर्थिक क्षेत्रको विकास र प्रवद्र्धन, पूर्वाधार विकास, हरियाली प्रवद्र्धनसहितको वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकाे दाबी छ । महानगर प्रमुख हल्ला नगरी काम गर्ने व्यक्ति भएकाले धेरै सफलता हासिल गर्न सक्षम भएको महानगरका सूचना अधिकारी तथा प्रशासन प्रमुख देव प्रसाद गुरागाईं बताउँछन् । उनले ललितपुरले थालेका नयाँ योजनाहरुलाई अन्य महानगरले नक्कल गर्ने गरेको समेत बताए । गुरागाईं भन्छन्, ‘हामीले छोटो समयमा धेरै काम गरेका छौं । हामीले गरेको कतिपय नयाँ कामलाई काठमाडौं महानगरले समेत नक्कल गरेको छ ।’ उनकाे दाबीजस्तै पर्फेक्ट काम महानगरले गरेकाे भनेर पत्याइहाल्ने ठाउँ भने छैन । किनकी आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदा जम्मा बजेटकाे ५३ प्रतिशत मात्रै खर्च भएको छ । दुई महिनामा आधा बजेट महानगरले कसरी खर्च गर्छ र नागरिकका आवश्यकता पूरा गर्छ भन्ने प्रश्न अझै अनुत्तरित छ। अझ चालू भन्दा पनि पुँजीगत खर्च कमजाेर देखिन्छ ।
१० महिनामा बजेट खर्च जम्मा ५३ प्रतिशत
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा ५३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएकोमा बैशाख मसान्तसम्मा ३ अर्ब ९५ करोड खर्च गरेको हो ।
जसमा चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख बजेट रहेकोमा १ अर्ब ९० करोड ५७ लाख अर्थात् ६८.३३ प्रतिशत खर्च गरेको छ । त्यसैगरी पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ बजेट रहेकोमा २ अर्ब ४ करोड ४९ लाख अर्थात ४३.७० प्रतिशत खर्च गरेको छ । महानरपालिकाले बैशाख मसान्तसम्ममा वार्षिक आन्तरिक आयको लक्ष्य ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ रहेकोमा ४७.८३ प्रतिशत अर्थात १ अर्ब ७० करोड मात्रै असुली गरेको छ ।
साइकल लेन थप गर्दै ‘रि पेन्ट’ गर्नेदेखि टिपरको चक्का पखाल्नेसम्मका योजना
ललितपुर महानगरपालिकाले यसअघि महानगरभित्र ६.१८ कि.मी साइकल लेन निर्माण गरेको थियो । संविधानमा साइकल लेन सम्बन्धी प्रावधान नहुँदा महानगरले समेत यस विषयमा ऐन निर्माण गरी प्रभावकारी रुपमा काम गर्न सकेको छैन । तर यो आर्थिक वर्षमा महानगरले साइकल लेनमा ‘रि पेन्ट’ गर्ने काम गरिरहेको छ । थप चक्रपथको बल्खुदेखि बालकुमारी खण्डमा साइकल लेन निर्माण गर्न महानगरले सडक विभागसँग समन्वय समेत गरिसकेको छ । तर साइकल लेन प्रभावकारी बनाउन सकेकाे देखिँदैन् ।
त्यस्तै धुँवा, धुलाे र प्रदूषणबाट बच्न महानगरले टिपर धाेइदिने याेजना नै अगाडि सारेकाे देखिन्छ । जनताकाे विकासका लागि खर्च गर्नुपर्ने बजेट यसरी निजी गाडीका चक्का धुन खर्च गर्दा त्यसले कति उपलब्धि हाँसिल हुन्छ भन्ने विषयमै संशय पैदा भएकाे देखिन्छ । महानगरपालिकाले नख्खु कोरिडोरबाट महानगरभित्र प्रवेश गर्ने टिपरहरुले गर्दा प्रदूषण भएको भन्दै टिपरको चक्का पखाल्ने संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेर अहिले सम्झौताको तयारी गरिरहेको छ ।
ललितपुर महानगरमा कालोपत्रे हुने सडक कम्तीमा डेड इन्च मोटाइको मात्र हुनेगरी काम भइरहेको छ । अहिले महानगरभित्र ५४ वटा सडकखण्डको २३.४ कि.मी मध्ये १५.५ कि.मी सडक कालोपत्रे भइसकेको छ भने बाँकी कालोपत्रेको चरणमा छन् । महानगरभित्र १९.५ कि.मी सडकमा अपांगतामैत्री फुटपाथ निर्माण भएको महानगरकाे दाबी छ । यो आर्थिक वर्षमा थप ३.६७ कि.मी (भनिमण्डलद–कानदेवतास्थान) अपांगतामैत्री फुटपाथ निर्माण भइरहेको महानगरले दिएकाे तथ्यांकमा उल्लेख छ ।
महानगरपालिकामा सडक निर्माण र स्तरोन्नतीका लागि ११ करोड ३५ लाख बजेट विनियोजन गरेर काम भइरहेको छ । ती निर्माणाधीन सडकमध्ये ८८ प्रतिशत सडक चक्रपथ बाहिरको रहेको महानगरले जनाएको छ । सधैँ मेयर चिरीबाबु महर्जनले ‘कोर क्षेत्र’ बाहेक चक्रपथ बाहिरका वडामा ध्यान नदिएको आरोप लाग्दै आएको थियो । यो वर्षदेखि महानगरको ध्यान बढी चक्रपथ बाहिर र थोरै चक्रपथभित्र हुने गरी काम भइरहेको प्रशासन प्रमुख गुरागाईंकाे दाबी छ ।
पार्क र पोखरी संरक्षणमा महानगर: यो वर्षमा ९ वटा पार्क निर्माण
ललितपुर महानगरपालिकाले नगरभित्र पार्क निर्माण, हरियाली प्रवद्र्धन र पोखरी संरक्षणमा विशेष ध्यान दिएको छ । महानगरले यो आर्थिक वर्षमा डिपिआर भएका ९ वटा पार्क निर्माण गर्न सुरु गरिसकेको छ । वडा २५ मा संजीवनी पार्कको निर्माण कार्य पूरा भइसकेको छ ।
हरियाली प्रवद्र्धनका लागि महानगरले विभिन्न स्थानमा १ हजार ७ सय ७० मि ‘ट्रान्सपरेन्ट ग्रीन फेन्चे’ निर्माण गरेको छ । हाल पाटन क्याम्पस, महालक्ष्मी मन्दिर परिसर, वडा ४ को कार्यालय अगाडिको बगैंचा, महेन्द्र भृकुटी मावि परिसरलगायत स्थानमा ‘ट्रान्सपरेन्ट ग्रीन फेन्चे’ निर्माण कार्य भइरहेको छ ।
त्यसैगरी महानगरको ‘ग्रीन एण्ड ब्लू प्रोजेक्ट’ अन्तर्गत लगनखेलको १४ रोपनी जग्गामा सप्तपाताल र करिब ३० रोपनी जग्गामा पलेस्वा पोखरीको निर्माण भइरहेको छ । सप्तपातालको ६५ प्रतिशत र पलेस्वा पोखरीको ४० प्रतिशत काम सम्पन्न भएको र आगामी आर्थिक वर्षसम्म सम्पन्न हुने महानगरले जनाएको छ ।
लगानखेलको न्हु पुखुको १८ रोपनी जग्गामा रहेको पोखरीको पुनर्निर्माण कार्य भइरहेको छ । सप्तपाताल पोखरी तथा पलेस्वा पोखरीमा पानी भर्न राजकुलो अन्तर्गत पहिलो चरणमा सुनाकोठीदेखि सप्तपातालसम्मको काम हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत नल्लुदेखि टिकाभैरवसम्मको र टिकाभैरवदेखि सुनाकोठीसम्मको राजकुलोको सम्पूर्ण कार्यका लागि गोदावरी नगरपालिकासँग सम्झौता भएर १ करोड ५० लाख गोदावरीलाई उपलब्ध गराएको समेत महानगरले जानकारी दिएको छ ।
महानगरपालिकाको वडा नम्बर २० मा रहेको पलेस्वा पोखरी नस्टोल, बुंमतीमा रहेको भन्नु पोखरी तथा धोकापिनी पोखरी यही आर्थिक वर्षमा सम्पन्न हुने गरी काम भइरहेको छ ।
२० वटा वडाको भवन निर्माण सम्पन्न, महानगरका ९ स्थानमा अपांगतामैत्री सार्वजनिक शौचालय
ललितपुर महानगरका २९ वटा वडामध्ये हालसम्म २० वटा वडा कार्यालयको प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ । अधिकांश निर्माण भएका भवन अपांगतामैत्री छन् । बाँकी वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेर जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको महानगरले जनाएको छ ।
पाटनढोका र मंगलबजारमा अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण भएको छ भने महागरभित्रका ९ वटा स्थानमा यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण कार्य भइरहेको छ ।
पुल्चोक क्याम्पसको हाताभित्र अवस्थित राणाकालीन संरचनाको मर्मत तथा पनुर्निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भएर स्वीकृतिको चरणमा रहेको समेत महानगरले जनाएको छ ।
त्यसैगरी २०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षति भएको पुल्चोकस्थित जुध्द बारुणयन्त्र भवन यथास्थितिमै पुनर्निर्माण गरी उक्त परिसरमा रहेको दमकल, एम्बुलेन्स, शव बहान र नगर प्रहरी सेवामा प्रयोग हुने सवारी साधनहरु व्यवस्था गर्न भूमिगत पार्किंङ सहितको भवन निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको समेत महानगरले जानकारी दिएको छ ।
३ वटा मोटरेवल पुल निर्माण, नेपालमै पहिलो लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल बन्दै
रिङरोडको कुसुन्तीमा ललितपुर महानगरले लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल निर्माण गरिरहेको छ । लिफ्टसहितको अपांगतामैत्री यो आकाशे पुल नेपालकै पहिलो हुनेछ । पुल निर्माण कार्य आगामी दशैं अगाडि सम्पन्न हुने महानगरले जानकारी दिएको छ ।
महानगरले पाटन अस्पताल अगाडि पनि आकाशे पुल निर्माण गर्न डिपिआर तयार गरेको छ ।
त्यसैगरी ललितपुर महानगरले नख्खु खोलामा तीन वटा मोटरेवल पुल निर्माण गरेको छ । यसबाट खोकना, बुंमती, भैसेपाटी, सुनाकोठी, धापाखेल र हरिसिद्धिमा बसोबास गर्ने जनता तथा अन्य पर्यटकका लागि आवागमनमा सहज भएको महानगरले जनाएको छ । धापाखेल र हरिसिद्धि जोड्ने कर्मनाशा खोलामा पनि पुल निर्माण कार्य भइरहेको छ । महानगरको वडा ४ र १८ लाई जोड्ने गरी नख्खु खोलामै पुल निर्माण गर्न समेत महानगरले डिपिआर तयार गरिरहेको छ ।
महानगरले धापाखेल २४ र सुनाकोठी २७ ओखाडस्थित महादेव खोल्सामा यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी कल्भर्ट निर्माण गरिरहेको छ ।
महानगरभित्रका सडकमा २ हजार ६९ वटा ‘स्मार्ट लाइट’, ९१ स्थानमा सीसीटिभी जडान
ललितपुर महानगरपालिकाले महानगरभित्रका सडकमा हालसम्म दुई हजार ६९ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महानगरले ९१ स्थानमा सीसीटिभी जडान गरेको छ । महानगरले एकान्तकुनादेखि बुंमतीसम्म, सातदोबाटो चापागाउँदोबाटोदेखि सुनाकोठी, सातदोबाटोदेखि धापाखेल, र सातदोबाटोदेखि हरिसिद्धि सडकका मुख्य चोकमा सीसीटिभी जडानका लागि उपत्यका प्रहरी कार्यालयसँग समन्वय भइरहेको समेत जानकारी दिएकाे छ ।
महानगरले दशैं अगाडि सम्पन्न गर्नेगरी बालकुमारी–बल्खु सडकमा एक हजार ३३७ वटा सडकबत्ती, ११ मि.को मिनि मस्ट लाइट ६५ वटा र १६ मि को हाइ मस्ट लाइट २ वटा राख्नेगरी काम अगाडि बढेको जनाएको छ ।
योमरीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने योजना, सम्पदा क्षेत्रमा अरु के-के गर्दैछ महानगर ?
ललितपुर महानगरले अमूर्त सम्पदा अन्तर्गत नेवारी समुदायमा अत्यन्त लोकप्रिय र स्वादिष्ट परिकारको रुपमा रहेको योमरीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन गृहकार्य गरिरहेको छ । यस विषयमा विभिन्न जातीय संघसंस्थासँग सहकार्य गरेको महानगरले जनाएको छ । महानगरले पाटन दरबार संग्रहालयलाई महानगरअन्तर्गत ल्याउन पहल समेत गरिरहेको छ । महानगरपालिकाले महानगरमा सञ्चालन हुने परम्परागत जात्रा, पर्व, मेलाका लागि अक्षयकोषको व्यवस्था गरेको छ ।
सम्पदा क्षेत्रमा दरबार, मन्दिर, बिहार, सत्तल, पाटीहरुलगायतका संरचनाहरु पुनर्निर्माण सम्बन्धी ८२ वटा योजना कार्यान्वयनको चरणमा रहेको महानगरले जनाएको छ । महानगरले रुद्रायणी, मच्छिन्द्रनाथ लगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य गरिरहेको छ । बालकुमारी मन्दिर र देगु तलेजु मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ । संकटा मन्दिर, ललितापुर पाटी तथा लोकाकृति महाविहार पुनर्निर्माणको काम भइरहेको छ भने भाई देग मन्दिरको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाले सम्पदामैत्री भवन निर्माण गरी सम्पदा संरक्षण गर्न ‘सम्पदामैत्री भवन निर्माण सहुलियत सम्बन्धी कार्यविधि, २०८१’ जारी गरेर कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।
हालसम्म ४६ हजार बढी परिवारले गरे स्वास्थ्य बीमा, दीर्घ रोगीलाई मासिक ५ हजार भत्ता प्रदान
ललितपुर महानगरपालिकाका ४६ हजार २४६ परिवारले हालसम्म स्वास्थ्य बीमा गराएका छन् भने ५३ हजार ६३२ जनाले सेवा लिएका छन् । स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्यकेन्द्रमा उपचार गर्न आउने बिरामीको चाप अधिक भएकाले अन्य स्थानमा समेत प्रथम सेवा विन्दुको रुपमा केन्द्र सञ्चालनको तयारी भइरहेको महानगरले जनाएको छ ।
ललितपुर महानगरले ६८ वर्ष उमेर पुगेका ८ हजार ३ सय जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोपको व्यवस्था गरेको छ । महिलाको पाठेघरको मुखको तथा स्तन क्यान्सर नियन्त्रण र रोकथामका लागि परीक्षण र उपचार कार्यलाई निरन्तरता दिँदै २९ वटै वडामा सेवा विस्तार गरेको छ । महानगरले विपन्न दीर्घ रोगीका लागि उपचारमा सहजता होस भन्ने उद्देश्यले मासिक ५ हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । हालसम्म ६ सय ९५ जनालाई भत्ता प्रदान गरिसकेको समेत महानगरले जनाएको छ ।
आफ्नै ‘डुंगा’ किन्दै महानगर, यस्तो छ महानगरको विपद् व्यवस्थापनको तयारी
ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा खरिद गर्ने भएको छ । डुंगा खरिदका लागि महानगरले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । गत वर्ष असोजमा आएको बाढीमा उद्दारका लागि डुंगा आवश्यक भएको महशुस गरी डुंगा खरिद प्रक्रिया अगाडि बढाएको महानगरले जनाएको छ । त्यसैगरी महानगरले विपद् व्यवस्थापनका लागि दमकल, स्काइ लिफ्ट, क्लोज कम्प्याक्टर जस्ता अत्याधुनिक उपकरण खरिद गरिसकेको छ ।
महानगरले विपद् व्यवस्थापनका लागि विपद् प्रतिकार्य अभ्यास गराउने, उद्दार सम्बन्धी तालिम प्रदान गर्ने, विपद् जोखिम न्यूनिकरण तथा उद्दार सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने जस्ता कार्य गर्दै आएको छ ।
महानगरको वडा नम्बर ४ मा भूमिगत पानी ट्यांकी निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु गरिएको छ । गुइतदोमार, बुंमती र धापाखेलमा विपद् सम्बन्धी डिडिआर सब स्टेसन सञ्चालनको प्रक्रिया अगाडि बढाएको समेत महानगरले जनाएको छ ।
पालिकाका हरेक विद्यालयमा विद्युतीय हाजिरी र सीसीटिभी जडान
ललितपुर महानगरभित्रका शैक्षिक संस्थाको लागि एकीकृत शैक्षिक क्यालेन्डर तयार गरी लागू गरिएकाे छ । महानगरभित्रका सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान गरिएको छ। पालिकात्रिका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्नुका साथै सीसीटिभी जडान भएको महानगरले जनाएको छ ।
हरित विद्यालयको अवधारणा अनुसार महानगरले विद्यालयहरुमा ‘एक विद्यालय एक बगैंचा’ कार्यक्रम सुरु गरेको छ । त्यसैगरी 'एक विद्यालय एक सम्पदा संरक्षण’ कार्यक्रम समेत महानगरले सुरु गरेको छ । महानगरले परम्परागत ऐतिहासिक, सम्पदा, संस्कृति तथा रहन सहनलाई समावेश गरी सामुदायिक विद्यालयमा कक्षा ४ सम्म र संस्थागत विद्यालयमा कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक अन्तर्गन नेपाल भाषा कार्यान्वयनमा ल्याएको छ । नेपाल भाषाका लागि सामुदायिक विद्यालयमा नेपाल भाषाको शिक्षकको व्यवस्था समेत महानगरले गरेको छ ।
न्यायिक समितिमा ६५ वटा उजुरी दर्ता, ४६ वटा फछ्र्यौट
ललितपुर महानगरको न्यायिक समितिमा यो वर्ष ६५ वटा उजुरी दर्ता भएको महानगरले जनाएको छ । दर्ता भएकामध्ये ६९ प्रतिशत अर्थात ४६ वटा मुद्दा फट्र्यौट भएका छन् ।
महानगरपालिकाले सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित हालसम्म १४ वटा ऐन र ४१ वटा निर्देशिका, कार्यविधि मापदण्ड तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ । महानगरपालिका र वडास्तरमा डिजिटल नागरिक वडापत्रको व्यवस्था गरिएको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेर काम भइरहेको महानगरले जनाएको छ ।
कार्यालयबाट खरिद गरिने सेवा तथा वस्तुहरुको खरिदमा पारदर्शी र मितव्ययी बनाउन महानगरले इ–बिडिङ गर्ने व्यवस्था गरेको समेत जनाएको छ ।