सरकारलाई विपक्षीले भने: भिजिट भिसा प्रकरणमा छानबिन गर्ने हो भने गृहमन्त्रीलाई संसदमा बोल्न दिन्छौं

काठमाडौं। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गरिरहेका विपक्षी दलले सदनको अवरोध हटाउन सरकार समक्ष शर्त राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार भए गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिने निर्णय गरेको हो ।
गृहमन्त्री लेखकले सदनमार्फत् धारणा व्यक्त गर्न सभामुखसँग पटकपटक समय लिए पनि विपक्षीले बोल्न दिएका थिएनन् । मंगलवार भने गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानबाट पछि हट्दै विपक्षी दलले गृहमन्त्रीमाथि छानबिनको माग राखेका छन् । गृहमन्त्रीमाथि छानबिन गर्न सरकार तयार भए सदनको अवरोध हटाउँदै गृहमन्त्रीलाई धारणा राख्न दिने शर्त विपक्षीले राखेका हुन् ।