राजीनामा नदिने गृहमन्त्री लेखकको अडान, संसदमा बोल्ने वातावरण बनाइदिन आग्रह


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा भिजिट भिसा प्रकरणको विषय उठेपछि गृहमन्त्रीले आफूले राजीनामा नदिने अडान राखेका हुन् ।
उनले राजीनामा नभएर आफूले संसदमा जवाफ दिन पाउनुपर्ने माग राखेका छन्। गृहमन्त्री लेखकले संसदमा जवाफ दिने वातावरण बनाइदिन विपक्षी दललाई आग्रह समेत गरेका छन् ।
समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए । तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुकाे जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताए ।
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यस प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको भन्दै विपक्षी दलहरुले उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् । गृहमन्त्री लेखकले पटक पटक संसदमा बोल्ने समय माग गरेपनि बोल्न पाएका छैनन् ।