हेटौंडा उपमहानगरले धान पकेट क्षेत्रका किसानलाई दियो यान्त्रिक उपकरण


हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धान खेती गर्ने किसानलाई यान्त्रिक उपकरणहरू वितरण गरेको छ । स्थानीय रैथाने बिउको संरक्षण गर्ने उद्देश्यले उपमहानगरपालिकाले धान पकेट क्षेत्र कार्यक्रम अगाडि बढाएको छ । सो कार्यक्रम अन्तर्गत उपमहानगरले आज किसानलाई अनुदानमा यान्त्रिक उपकरणहरू वितरण गरेको हो । जस अन्तर्गत १ सय ५५ वटा इलेक्ट्रिक स्प्रे, १ सय ६० वटा त्रिपाल, ६ वटा हाते ट्रयाक्टर, ५ वटा कम्वाइन राईस मिल, १० वटा पानी तान्ने मोटर र २ वटा डिजिटल काटा वितरण गरिएको छ ।
बागमती प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले हेटौंडा–१७ हटियामा रहेको साना किसान कृषि सहकारी संस्थामा रहेर धान खेती गर्ने किसानहरूलाई उपकरण वितरण गरेको हो ।
धान पकेट क्षेत्रका लागि चालु आर्थिक बर्षमा उपमहानगरले १३ लाख बजेट विनियोजन गरेको छ । कार्यक्रममा नगर प्रमुख मीनकुमारी लामाले अब उत्पादनसँग जोडेर जान जरुरी रहेको बताइन् । उनले कृषिको विभिन्न क्षेत्रलाई समेटेर नगरका विभिन्न क्षेत्रलाई पकेट क्षेत्रको रुपमा अघि बढाउने योजना सहित अघि बढेको बताइन् ।
चालु आर्थिक बर्ष र आगामी आर्थिक बर्ष २०८२/०८३ गरी दुई बर्ष सञ्चालन हुने कार्यक्रममा किसानलाई धान खेती सम्बन्धी दुई वटा तालिमसहित ७ टन धानको रैथाने ९स्थानीय० बिउ बितरण गरिएको छ । कार्यक्रममा सहभागी भएका किसानलाई ४ टन मकवानपुरे छोटे र ३ टन रामधान बिउ उत्पादनका लागि वितरण गरिएको छ । हेटौंडा–१७ को चुच्चेखोला देखि महादेब खोलासम्मको क्षेत्रलाई धान पकेट क्षेत्र बनाउने उपमहानगरको योजना छ ।