तनहुँमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कास्की जिल्ला माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सरोज पौडेललको मृत्यु भएको हो । गम्भीर घाइते पौडेलको उपचारका लागि दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।