भिजिट भिसा प्रकरणले बन्धक बन्यो संसद, बजेट आएको एक सातासम्म पनि हुन सकेन छलफल


काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । भिजिट भिसामार्फत मानव तस्करी र ठगी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न सत्तापक्ष सहमत नहुँदा प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध हुँदै आएको छ ।
संसदको गतिरोध हट्न नसक्दा बजेट आएको एक सातासम्म पनि छलफल अघि बढ्न सकेको छैन । बुधबार बिहान १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । उक्त समयमा बैठक सञ्चालन हुन नसकेपछि बैठक दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारियो । त्यसमा पनि दलहरूबीच सहमति नभएपछि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन् ।
सहमति जुटाउनका लागि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । तर, सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकिरहेको छैन ।