आज यी १५ जिल्लामा बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज १५ जिल्लामा बाढीबाट सजग रहन आग्रह गरेको छ । हरेक दिनझैँ आज पनि मुलुकका विभिन्न स्थानको बाढीको जोखिमबारे जानकारी दिँदै महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा, धनुषा, धनकुटा, सर्लाही, बारा, पर्सा, चितवन, कपिलवस्तु र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
यस्तै बाढी महाशाखाले आगामी ३ दिन (शनिबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह रहने पूर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको उल्लेख गरेको छ। यसैगरी कन्काई, कमला, बागमती र पूर्वी राप्ती मा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन भनेको छ ।