जितपुर सिमराका प्रशासकीय अधिकृतसँगको विवादपछि डीएसपी शुभद्राको सरुवा

काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइबालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । आवश्यकता अनुसार डीएसपी वाइबालाई हेटक्वाटर फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
वाइबाको ठाउँमा प्रहरी प्रधान कार्यालयले अर्का डीएसपी वेद जोशीलाई पठाएको छ ।
यसअघि डिएसपी वाइबाको जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंसँग विवाद भएको थियो । गत जेठ १८ गते डीएपी वाइबाले प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि इन्धनकाे कुपन च्यातेकी थिइन् ।
इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उपमहानगरपालिकाबाट महिनाकाे सय लिटर इन्धन उपलब्ध गराइँदै आएको छ । डीएसपी वाइबाले गत वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट इन्धनको कुपन लिएकी थिइन् ।
उपमहानगरबाट जेठ १८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिएपछि इन्धन थोरै भएको भन्दै डीएसपी वाइबाले प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि कुपन च्यातेकी हुन् ।
डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि डीएसपी वाइबालाई प्रधान कार्यालय तानेकाे हो ।