विराटनगरमा २ सय ९१ स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष भेला हुँदै


काठमाडौं । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाले देशभरका दुई सय ९१ स्थानीय तहका जनप्रतिनिधिहरुको भेला आयोजना गरेको छ । विराटनगरमा स्थानीय सरकारका असल अभ्यासको आदान प्रदान गर्नेगरी शुक्रवार र शनिवार स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको भेला आयोजना गरिएको हो ।
भेलामा कोशी प्रदेशका सबै पालिका, देशभरका ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, मधेश प्रदेशका ७२ पालिका, बाग्मती प्रदेशका ४१ पालिका र बाँकी दुईवटा प्रदेशबाट केही नगरपालिका समेत गरी जम्मा २ सय ९१ पालिकाबाट उपप्रमुख तथा उपाध्यक्षको सहभागिता हुने बताइएको छ । सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्ययोजना रहेको छ ।
सम्मेलनमा स्थानीय तहहरूले बनाएका कानुनको कार्यान्वयनका सवालबारे छलफल हुनेछ । सम्मेलनमा स्थानीय तहले बनाएका कानुनको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्ने, न्यायिक समितिको क्षेत्राधिकार वृद्धि गर्न संघीय र प्रदेश सरकारसँग घोषणापत्रमार्फत पहलका लागि लविङ गर्ने समेत योजना छ ।
सम्मेलनमा संवैधानिक व्यवस्था बमोजिम विकेन्द्रित न्याय प्रणालीमा देखिएका विवाद र न्यायिक समितिको संयोजक एवं पदाधिकारीमा चाहिने ज्ञान, सीप तथा कार्यदक्षताका विषयमा समेत छलफल हुने बताइएको छ ।