Ad Image

हेटौँडामा पहिलोपटक सञ्चालनमा आयो सुपरफास्ट चार्जिङ स्टेसन

User Image राजन दहाल Rajan Dahal | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/SUPERFAST HETAUDA.jpg

हेटौँडा । नेपाली पानीबाट उत्पादन भएको विद्युतलाई अधिकतम उपयोग गर्नका लागि पछिल्लो समय इलेक्ट्रोनिक्स सवारीहरुमा गरिने चार्जिङ स्टेसनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।

नेपाली बजारमा विद्युत उपकरण ट्रान्सफर्मर उत्पादन गर्ने उद्योगको रुपमा नाम कमाएको ‘निक’ले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको सुपरफास्ट चार्जिङ स्टेसनको मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् ।

स्टेसनको उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नयाँ ढंगबाट सञ्चालनमा आएको स्टेसनलाई प्रदेशभर लैजान जरुरी रहेको बताए । उनले वातावरण संरक्षणको लागि इलेक्ट्रोनिक चार्जिङ स्टेशन जरुरी रहेको भन्दै सेवा बिस्तारमा लाग्न सुझाव दिए ।

उनले नयाँ टेक्नोलोजी नेपालमा ल्याएको हुवाबेलाई उता रहेको ज्ञानलाई नेपाली बजारमा ल्याउँदै सहकार्यको वातावरण बनाउन आग्रह गरे । यसले नेपाली बजारमा रोजगारीको अवसर प्रदान गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडाको पहिचानको रुपमा रहेको हरित हेटौंडालाई थप सुन्दर बनाउन चार्ज स्टेसनले मद्दत पुग्ने बताइन् । धुवाँ धुलोबाट सुरक्षित रहँदै प्रदेशको राजधानी शहरको वातावरणलाई सफा राख्न सकिने उनको भनाइ थियो ।

सरकार र निजी क्षेत्रले नेपाली स्रोतलाई परिचालन गर्दै उत्पादन भएको विद्युतलाई यहीँ प्रयोग गर्दा वातावरण मैत्री हुने उनको भनाइ थियो । उनले भनिन्, ‘स्टेसनले सवारीबाट हुने प्रदूषण रोक्न र हेटौंडालाई सुन्दर बनाउन भुमिका खेल्ने छ ।’

चाइनाको प्रतिष्ठित कम्पनी हुवाबेसँगै गाडी चार्जको सहकार्यमा निकले ४ सय किलोवाटको स्टेसन सञ्चालनमा ल्याएको छ । न्युनतम इन्धन सवारीलाई पेट्रोल पम्पमा लाग्ने समयमै चार्ज गर्न सकिने गरी सञ्चालनमा आएको स्टेसनबाट पाँचदेखि १५ मिनेटभित्र गाडी फुल चार्ज हुने स्टेसन प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिइन् ।

‘करिब ११ महिनाको लामो प्रयासपछि हामीले हरित नगरी हेटौंडामा वातावरणमैत्री सेवा सञ्चालनमा ल्याउन सक्यौं’, प्रेशाले बताइन् । स्टेसनमा पाँच वटा प्वाईटमार्फत सवारी चार्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

स्टेसनमा विद्युत आपूर्ति बन्द हुन नदिनका लागि २४०\२२० केभीको सोलारको पनि व्यवस्थापन गरेको बताइएको छ । स्टेसनको उद्घाटनसँग हरेक चार्जिङ प्वाइन्ट नजिकै हरियो शहरको रुपमा बिरुवा रोपिएको छ ।