पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । समाचार प्रकाशनको विषयमा परेको उजुरीको आधारमा पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पाठकले काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जी लिइएको हो । पत्रकार पाठकविरुद्ध देउवापुत्र जयविरले नै उजुरी दिएको र जयवीरकै योजनाअनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको बुझिएको छ ।
पाठकले केही समय अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित समाचार सामग्री पोष्ट गरेका थिए । त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति देउवापुत्र जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् ।
यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गर्दै त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने समेत उल्लेख गरेको थियो ।