हेवाखोलाको बेलिब्रिज तत्काल मर्मत गर्न योगेश भट्टराईको माग


काठमाडौं । प्रतिनिधिसभा सांसद योगेश भट्टराईले पाँचथरको हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल मर्मत गर्न सरकारसँग माग गरेका छन् ।
उक्त पुल भत्किँदा शनिबार सिमरा उपमहानगरपालिकाका तीन मजदुर—रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरीको ज्यान गएको थियो । घटनामा घाइते भएका अन्य तीन जनाको उपचार जारी छ ।
सांसद भट्टराईले मृतकका परिवारलाई उचित राहत र घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने बताएका छन् । उनले पुल भत्किएपछि दैनिक उपभोग्य सामग्री र निर्माण सामग्रीको ढुवानी ठप्प भएको भन्दै तत्काल वैकल्पिक आवागमनको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
मनसुनको सिजन सुरु भइसकेको सन्दर्भमा उनले सम्भावित बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप न्यूनीकरणका लागि पनि सरकारसँग पूर्वतयारी गर्न माग गरेका छन् ।