निलो खादा लगाएर संसदमा प्रवेश गरेका रास्वपा सांसदलाई कार्बाही गर्न कांग्रेसको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो रङको खादा लगाएर बैठकमा सहभागी भएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । रास्वपाका सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कांग्रेसले कार्बाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको हो ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभा बैठकमा निलो खादा लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी दिएका छन् भने संसदबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै सभामुखको ध्यानाकर्षण गराए ।
घिमिरेले रास्वपा सांसदहरुले लगाएको खादा मर्यादित पोशाकभित्र पर्ने कि नपर्ने भन्ने प्रश्न समेत गरेका छन् । उनले भने, ‘यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनु भएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन?’
उनले अमर्यादित पोशाक लगाउनेलाई सभामुखले चेतावनी र संसद्बाट निष्कासन गर्ने कार्बाही पनि आवश्यक भएको बताए ।