नेपाली सेनाद्वारा खोटाङमा निःशुल्क स्वास्थ्य शिविर, १५८ जना लाभान्वित


खोटाङ । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१०, अर्खौले बजारमा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले बुधबार आयोजना गरेको यस शिविरमा ८४ महिला र ७४ पुरुषले सेवा लिएका थिए ।
मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेको थियो । शिविर सञ्चालनमा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सक, औषधि र उपकरण उपलब्ध गराएको थियो भने, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय गरेको थियो ।
प्रमुख सेनानी लामिछानेका अनुसार, नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै ग्रामीण क्षेत्रका जनतालाई गाउँमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो । शिविरमा आएकामध्ये ६० जना जटिल रोगका बिरामीलाई जिल्ला अस्पताल खोटाङ वा माथिल्लो निकायमा ’रिफर’ गरिएको छ ।
सेवाग्राहीहरूले पहिलोपटक आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । यसअघि पाँच महिनाअघि पनि रणभीम गणले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा यस्तै शिविर आयोजना गरी १४५ जनालाई लाभान्वित गराएको थियो ।