बङ्गुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

.jpg)
कैलाली । धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उनको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।
खर्च कटाएर औसतमा वार्षिक रु १२ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनी बताउँछन् । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी रु छ हजारमा बिक्री गर्ने गरेका छन् ।
बङ्गुरपालनबाट गरेको कमाइले उहाँले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताए । “बङ्गुरपालन राम्रै फापेको छ”, उनले भने, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।”
चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष रु ९० हजार अनुदान प्राप्त गरेका छन् । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए । उनी सफल कृषकका रुपमा समेत पुरस्कृत भइसकेका छन् ।
सुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताए । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ ।