Ad Image

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG-1 (1).jpg

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो ।

उक्त केन्द्रको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र नभई नेपालकै पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बागमती प्रदेशले चितवनपछि ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै उक्त केन्द्रबाट पर्यटकले नेपालको पर्यटकीय गतिविधिका बारेमा थाहा पाउने बताए । ठमेलमा सार्वजनिक शौचालय समेत निर्माण गरिने उनी बताउँछन् ।

काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले उनीहरुलाई सूचना केन्द्रबाट सहयोग पुग्ने विश्वास गरे । 

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाको पर्यटकीय गन्तव्यलाई समेटेर ‘ट्राभल बुक’ प्रकाशन गर्न लागेको  जानकारी दिए । उनले पर्यटन सूचना केन्द्रलाई प्रविधिसँग जोडेर अगाडि बढ्न प्रदेश सरकार लागिरहेको उल्लेख गरे ।