पालिकाहरूमा बेथितिः जनप्रतिनिधिहरू नै चलाउँछन् उपभोक्ता समिति, अनुगमनबिना रकम निकासा

.jpg)
सिराहा । आर्थिक वर्षको अन्त्य हुन लाग्दा पालिकाका प्रशासनिक कार्यालयहरूमा आयोजनाबाट प्राप्त हुनुपर्ने रकम निकासा गर्नेहरूको भीड नै लाग्ने गरेको छ । यो अवस्था सिराहाका स्थानीय सरकारहरुमा पनि उत्तिकै छ । १७ वटा पालिका रहेको सिराहामा असार मसान्तआसपास योजना भुक्तानी लिन आउनेहरूको भीड छ । आयोजना सम्पन्न भएर भुक्तानी माग्नेहरूभन्दा आयोजना भर्खर सञ्चालन गरेर सम्पन्न भएको प्रमाणसहित पालिकामा भुक्तानी माग्नेहरू बढी देखिन्छन् ।
सिरहाको नरहा गाउँपालिका ३ स्थित कव्रिस्तान निमार्ण कार्य बेथितिको एउटा उदाहरण हो । पालिकाले यो आयोजना निर्माणका लागि चालु आर्थिक वर्ष २०८१\०८२ मा बजेट छुट्याएको थियो । तर यो आयोजना निर्माणको काम समयमै सञ्चालन हुन सकेन । असार २५ गतेपछि यो आयोजना निर्माणमा धमाधम उपभोक्ता समिति गठन गरियो । अचम्म त के छ भने यो आयोजनाको निर्माण गर्न गाउँपालिका अध्यक्ष नै उपभोक्ता समितिमा बसेर काम थालेका छन् । गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले आफ्नै उपस्थितिमा यो आयोजना निर्माण गर्न सात सदस्य निमार्ण समिति गठन गरेका छन् । तर, निमार्ण समितिमा को–को कुन–कुन पदमा छन् भनेर खुलाएका छैन । मेयरसाप डटकमलाई प्राप्त विवरणअनुसार पदाधिकारीको नाम किटान गर्ने ठाउँ खाली राखिएको छ ।
गाउँपालिकाका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डललगायतका कर्मचारीहरुको मिलोमतोमा यस बाउन्ड्रीवाल निमार्ण कार्यमा कानुनविपरीत अध्यक्षकै हस्तक्षेपमा निर्माण कार्य भएको देखाएर पैसा निकासा गरिएको आशंका गरिएको छ । कब्रिस्तान बाउण्ड्री निर्माण आयोजना प्रदेश सरकारको सशर्त अनुदान भएको र यसको लागि मधेश प्रदेशले ९० लाख र गाउँपालिकाले २० लाख बजेट छुट्याएको देखिन्छ । तर यत्रो धेरै पैसाको लगानीमा सञ्चालनमा हुने आयोजनाका लागि गएको असार २४ गते बैठक बसी माइन्युट गरेर उपभोक्ता समिति गठन गरिएको देखिन्छ । म्यान्युटमा राखिएको मितिमा गतेसमेत तोकिएको छैन । मिति २०८२\०३ मात्र लेखिएको छ । अध्यक्ष यादवले समिति गठन गरेको रजिष्ट्ररमा आफैँले हस्ताक्षर समेत गरेका छन् । उपभोकता समितिमा निर्माण कार्य समिति र उपभोक्ता समिति मात्रै उल्लेख गरिएको छ । यी समितिमा को–को उपभोक्तालाई के के जिम्मेवारी दिएको हो भन्ने खुलाइएको छ । क–कसको नाममा खाता सञ्चालन गर्ने हो? भन्ने विषय पनि खुलाइएको छैन । सात सदस्य समिति र तीन सदस्य अनुगमन समिति बनाइएको छ । तर , रजिष्ट्ररमा कसैको नाम उल्लेख छैन । असारको अन्तिम साता जनप्रतिनिधि र ठेकेदारहरुलाई बजेट निकासा गर्न भ्याइनभ्याइ भएको छ ।
आफैँले काम गराएर आफैँले रकम निकासा गर्न जनप्रतिनिधिहरूलाई कानुनले दिँदैन । स्थानीय उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बनधी कार्यविधि २०७४ को दफा ५ को उपदफा २ मा भनिएको छ, ‘.....जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, बहालवाला सरकारी कर्मचारी र शिक्षक उपभोक्ता समितिको सदस्यमा बस्न पाइने छैन ।’ तर यो आयोजना निर्माणमा अरु लाभान्वित व्यक्तिहरूलाई जानकारी नै नदिई गाउँपालिका अध्यक्षले आफ्नै नियन्त्रणमा मान्युट गरेर लगेको, गाउँपालिका अध्यक्षकै सक्रियतामा भर्खर काम सुरू भएको स्थानीय नागरिकहरूको आरोप छ ।
आर्थिक वर्ष २०८१\०८२ को कारोबार सकिएको चार दिन हुँदा पनि गाउँपालिकामा भुक्तानी पास भइसकेका आयोजनाहरू अहिले पनि सञ्चालन भइरहेका छन् । यस्ता आयोजनाहरु सम्पन्न नभई भुक्तानी दिइएको देखिन्छ । यी आयोजनाको अनुगमन समेत हुने देखिँदैन ।
यही पालिकाको वडा नम्बर ३ मा मुस्लिम समुदायको ‘कवरगाहा’को बाउन्ड्री वाल निर्माणको काम अहिले पनि सकिएको छैन । तर यो आयोजनाको भुक्तानी प्राप्त भइसकेको बुझिएको छ । यहाँ मौखिक रुपमा उपभोक्ता समिति बनाएर काम भइरहेको छ । लिखित माइन्युटमा अन्य व्यक्तिहरू नै उपभोक्ता समितिमा राखिएको बुझिाएको छ ।
कब्रिस्तानको वाउन्ड्री वाल निमार्ण अहिले १० प्रतिशत मात्र सम्पन्न भएको सहमुद मियाँ बताउँछन्। बाउन्ड्री वालको काम अध्यक्ष यादवले आफ्नै सहभागितामा गराइरहेको र यो आयोजनाको रेखदेख गर्न उनकै नजिकका एक स्थानीय नागरिकलाई दिएको आयोजना क्षेत्रका स्थानीय सहमुद मियाँ बताउँछन् । ‘यो कब्रगाहको बाउन्ड्री वालको समिति अहिलेसम्म फिक्स भएको छैन’, सथनीय नागरिक मियाँ भन्छन्, ‘असारको २४ गते अध्यक्ष आफैँ गाउँमा आएर बैठक बसाएका थिए। बैठकबाट उपभोक्ता समिति त गठन भयो। तर, समितिको सदस्यहरु बहेक पदाधिकारीहरुको नाम चयन गरिएन । समितिको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पछि चयन गर्ने भनेर गाउँपालिका अध्यक्ष रामप्रमोद यादव हिँडे। काम भइरहेको छ। यसको भुक्तानी हुने–नहुने विषय मलाई थाहा छैन ।’
वडा नम्वर ३ का अध्यक्ष रुस्तम अन्सारीले पनि यो आयोजना निर्माणको विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने, ‘मलाई यसबारेमा केही जानकारी छैन, तपाईंलाई यो कामको बारेमा जे बुझ्नु छ, अध्यक्ष वा गाउँपालिकामै गएर बुझ्दा राम्रो ।’
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले भने, ‘बजेट भएर पनि काम नै भएन । यो आयोजनाको रकम निकासा भएको छैन । शसर्तको ९० लाखको बजेट थियो । इँटा पनि खसालिसकेको छ । अब अर्को आर्थिक वर्षमा क्रमागत गरेर निकासा दिन्छौं।’ यो आयोजना निर्माणको उपभोक्ता समितिको विषयमा जानकारी लिन खोज्दा अध्यक्ष यादवले प्रतिक्रिया दिन चाहेनन् । पछि पटक–पटक फोन सम्पर्क गरेपनि उनी सम्पर्कमा आउन चाहेनन् ।
नरहा गाउँपालिका–३ मै आरसीसी ढलान, ग्राभेलसहितका काम अध्यक्ष यादव आफैँले गराइरहेको स्थानीय नागरिकहरू बताउँछन् । मुसहरी वरपीपलटोल स्थितको मुसहरीमा करिव २ सय मिटर लामो सडकको आरसीसी ढलानको काम अध्यक्ष यादवकै नियन्त्रणमा रहेको छ। आरसीसी ढलानको काम अझै जारी छ । उनले आफ्नै ‘अध्यक्ष निर्देशित कोष’को २० लाख रकम असार २४ गतेबाट यो आयोजनामा लगाएको बुझिएको छ । उक्त आयोजनाको पनि अनुगमन नै नगरी भुक्तानी भएको छ ।
असार सकिनै लाग्दा कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ भने कतै भवन निर्माणको काम हुँदैछ। कामको रेखदेख भने गाउँपालिका अध्यक्ष यादवले दाजु कासिन्द्र यादवलाई जिम्मा दिएका छन् । यी आयोजनाहरूमा नाम मात्रको उपभोक्ता समिति बनाएर काम गराइएको छ ।
उपभोक्ता समितिका अध्यक्ष रञ्जितकुमार सदाले आरसीसी ढलानको काम अध्यक्ष रामप्रमोद यादव आफैँले गरेको बताए। उनले भने, ‘सबै काम अध्यक्ष आफैँले गरिरहनु भएको छ । यहाँ सबै रेखदेदखको काम, सामान अपुग हुँदा ल्याउने काम उहाँकै दाई कासिन्दर यादवले गरिरहनु भएको छ। हामीले यहाँ सहजिकरण मात्र गरिरहेका छौं।’
अहिले काम भइरहेको योजनाको कामहरुको भुक्तानी नभएको प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डलको दाबी छ । ‘त्यहाँको कामको अहिलेसम्म फाइल मसम्म आइपुगेको छैन’, मण्डल भन्छन्, ‘सम्पन्न नै नभएको कामको भुक्तानी हुँदैन। त्यो आयोजनामा अब आगामी आर्थिक वर्षमा थप बजेट बनाएर भुक्तानी गर्नुपर्ने हुन्छ। यो पटक भुक्तानी हुँदैन भएको पनि छैन।’