शंकर पोखरेलको प्रश्न– काम गर्ने युवा विदेशिँदा कसरी बन्छ देश ?


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकारको रक्षा गर्नु नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)को २६औँ स्थापना दिवसका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा उनले आजको अधिकार प्राप्तिका लागि नेपाली राजनीतिक दलहरूको त्याग, सङ्घर्ष र बलिदान रहेको स्मरण गराए ।
महासचिव पोखरेलले २००७ सालको परिवर्तनपछि केही अधिकार प्राप्त भए पनि राजाले पुनः ती अधिकार खोसेको उल्लेख गरे । उनले लोकतान्त्रिक राज्य जति बलियो हुन्छ, त्यति नै मानव अधिकार सुनिश्चित हुने धारणा राखे ।
राज्यलाई मानव अधिकार विरोधी भन्नु गलत भएको र यसले सामाजिक अराजकता बढाउने उनको भनाइ थियो, जसले अन्ततः राज्यलाई कमजोर बनाई मुलुकको विकास रोक्ने उनले तर्क गरे ।
पोखरेलले वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेहरूले देश र जनताको हितमा काम नगर्ने बताए । यस्ता कार्यले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पुर्याउने उनको भनाइ थियो ।
महासचिव पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको बताए । उनले ’काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश कसरी बन्छ?’ भन्दै प्रश्न गरे ।
“काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता गरेर हुँदैन, यसका लागि देशमा नै बसेर काम गर्नुपर्छ,“ उनले भने । देशलाई समृद्ध बनाउन नागरिक समृद्धिको यात्रामा जुट्नैपर्ने उनको धारणा थियो ।