विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय अनिवार्य: गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँटमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताए ।
“हामी उच्च जोखिमपूर्ण भुगोलमा छौँ”, उनले भने, “विपद्को सामाना र व्यवस्थापनका लागि तीन वटै तहबीच समन्वय र सहकार्य जरुरी छ ।” सात वटै प्रदेशमा आपत्कालीन गोदामघरहरू रहेको बताउँदै उनले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको बताए ।
नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपत्कालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।
विगतमा विपद्का बेला गोदामघरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदामघर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उनको भनाइ छ ।