रसुवागढी–स्याफ्रुबेसी सडक एक–दुई दिनभित्र खुल्ने तयारी


काठमाडौं । गत असार २४ गतेको भोटेकोशी बाढीले क्षति पुर्याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारसम्म खुल्ने सम्भावना रहेको सडक विभागले जनाएको छ ।
सडक आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार स्याफ्रुबेसीदेखि साढे आठ किलोमिटर परको लिङलिङमा रहेको प्रमुख पहिरोमा रक कटिङको काम तीव्र गतिमा भइरहेको छ ।
बाढीले नेपाल–चीन मितेरी पुल भत्काउनुका साथै १६ किलोमिटर सडक पूर्ण अवरुद्ध पारेको थियो। यसबाट रसुवागढी सुक्खा बन्दरगाह, तीन जलविद्युत आयोजना र करिब सय गाडीहरू बगेका थिए ।
लिङलिङमा १२० मिटर सडक भत्किएको र त्यहाँ ट्र्याक खुलाउन चारवटा मेसिन प्रयोग भइरहेका छन् । ट्र्याक खुलेपछि तत्काललाई साना गाडी चलाउन मिल्ने बनाइनेछ ।
बाढीमा परी ११ शव र मानवअंगहरू फेला परेका छन् भने १८ जना अझै बेपत्ता छन् । मितेरी पुलको पुनर्निर्माणबारे भने अनिश्चितता कायमै छ, यद्यपि चिनियाँ पक्षले डोजर लगाइरहेकाले निर्माण सुरु भएको अनुमान गरिएको छ ।