बंगलादेशमा र्यालीका क्रममा हिंसा, प्रहरीको गोली लागेर ४ जनाको मृ*त्यु


काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको र्यालीका क्रममा हिंसा भड्किएको छ । हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।
बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्यालीमा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए । प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा र इँटा प्रयोग गरी प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए ।
प्रदर्शनकारीले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गर्नुका साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण गरेपछि सुरक्षाबलले जवाफमा गोली चलाएको थियो । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।
हिंसामा मारिएका मध्ये दीप्टो साहा (२५), रमजान काजी (१८) र सोहेल मोल्ला (४१) को पहिचान खुलेको छ । उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको चिकित्सकहरूले बताएका छन् ।
हिंसाका बाबजुद पनि एनसीपीले गोपालगञ्जमा र्याली सम्पन्न गरेको छ । एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले र्यालीको अध्यक्षता गर्दै ‘यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं’ भनेका छन् । एनसीपी नेता सरजिस आलमले अवामी लीगका समर्थकले हमला गरेको र प्रहरी तमासे बनेको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीको कार्यालयले बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि गोपालगञ्जमा कफ्र्यु जारी गर्ने आदेश दिएको छ । सो क्षेत्रमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सैनिक तैनाथ गरिएका छन् ।
गत फेब्रुअरी २८, २०२५ मा गठन भएको एनसीपी बंगलादेशको हालै उदाएको विद्यार्थी नेतृत्वको पहिलो राजनीतिक दल हो, जसलाई अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन पनि प्राप्त छ ।
युनुसले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनलाई दिँदै अपराधीहरूलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन् । उनले र्याली जारी राख्ने विद्यार्थीहरूको साहसको पनि प्रशंसा गरेका छन् ।