सेफ्टी ट्याङ्कीमा काम गर्दा १ मजदुरको मृ*त्यु, २ बेहोस


काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, घुर्बिसेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बुधबार साँझ एक मजदुरको मृत्यु भएको छ भने अन्य दुई जना बेहोस भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीले यसको पुष्टि गरेका छन् । मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ कै ३८ वर्षीय रत्न चेम्जोङ रहेका छन् । सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङ को भने उपचार भइरहेको छ ।
घुर्बिसे पञ्चमी सहकारी संस्थाले बनाउँदै गरेको सेफ्टी ट्याङ्कीभित्र सुरुमा एक जना मजदुर पसेर बेहोस भएपछि उनलाई निकाल्न गएका अन्य दुई जना पनि बेहोस भएका थिए ।
जानकारी पाउनासाथ प्रहरी चौकी फाक्तेपबाट असई शेरबहादुर राईको कमान्डमा खटिएको टोलीले जेसीबीको सहयोगमा उनीहरूलाई बाहिर निकालेको थियो । उपचारका लागि इलाम अस्पताल लगिएका रत्न चेम्जोङको त्यहीँ मृत्यु भएको बताइएको छ ।