Ad Image

मेयरसाप समाचार प्रभाव : पदबाट हटाइए रामप्रताप क्याम्पसका प्रमुख साह

User Image मुकेशकुमार यादव | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aaasgayusghhsdfh.png

सिरहा । सिरहाको गोलबजार नगरपालिकास्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पसमा नयाँ क्याम्पस प्रमुख चयन गरिएको छ । विगत लामो समयदेखि क्याम्पस प्रमुखको रूपमा काम गर्दै र विवादित बन्दै आइरहेका किशोर साहको व्यापक आलोचना हुन थालेपछि आज बिहीबार नयाँ क्याम्पस प्रमुखमा दिनेश कुमार यादवलाई चयन गरिएको हो ।

सोही क्याम्पसमा शिक्षकको रूपमा कार्यरत यादवलाई आज साउन १ गतेदेखि लागु हुने गरी तिन वर्षको लागी क्याम्पस प्रमुख चयन गरिएको क्याम्पस सञ्चालक समितिहरू बताउँछन् । करिब ९ वर्षदेखि ऐन–कानुनलाई लत्त्याउँदै रजगज गर्दै आइरहेका क्याम्पस प्रमुख किशोर साहलाई हटाएर यादवलाई जिम्मेवारी दिइएको क्याम्पस सञ्चालक समितिका सदस्य राम चन्द्र महतोले बताए ।

उनले भने, ‘विगत एक दशकदेखि एकल शासन चलाउँदै क्याम्पसमा रकम हिनामिना देखि फर्जी क्याम्पस प्रमुख बनाइएको थियो । विभिन्न मिडियाहरूमा समाचार आइसकेपछि हामी सञ्चालक समितिले साहबाट जिम्मेवारी खोसेका हौँ ।’

२०७१ सालमा क्याम्पस प्रमुखमा नियुक्त भएका साह हालसम्म निरन्तर प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए । जिम्मेवारी रहँदा साहले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन भन्दा विद्यार्थीसँग बढी रकम असुली गरी हिनामिना गरेको र अनुदानको रकम हत्याउन फर्जी क्याम्पस प्रमुखको रूपमा मनोज साहलाई क्याम्पस प्रमुख बनाइएको सत्य तथ्य प्रमाणसहित मेयरसाप डटकमले समाचार सम्प्रेषण तथा प्रकाशन गरेकाे थियो ।

प्रमुख साहले अनुदानको रकम पाउनका लागि फर्जी क्याम्पस प्रमुख बनाएका थिए । विश्वविद्यालय अनुदान आयोगबाट पाउने अनुदानका लागि प्रमुख साहले क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सूर्यमान तामाङसँग मिलेर नक्कली क्याम्पस प्रमुख बनाएको पाइएको थियो । 

आयोगले पूर्णकालिन क्याम्पस प्रमुख नभएकै कारण प्रत्येक वर्ष अनुदानको रकम घटाउँदै आएकोमा यो पटक पूर्णकालिन क्याम्पस प्रमुख भएका क्याम्पसमा मात्र अनुदान दिने व्यवस्था लागू भएपछि उनले क्याम्पसकै शिक्षक साहलाई पूर्णकालिन क्याम्पस प्रमुख नियुक्त गरेको पत्र आयोगमा पठाएको पाइएको थियो ।

९ वर्षमा पदमुक्त भएका साहले आफ्नो कार्यकालमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनभन्दा बढी रकम असुली गरी करिब सात करोडभन्दा बढी रकम हिनामिना गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा उजुरी परेको छ ।

यो पनि

अनुदान रकमका लागि फर्जी क्याम्पस प्रमुख नियुक्त, क्याम्पस प्रमुख र अध्यक्षले किर्ते गरेको खुलासा