Ad Image

वीरगञ्ज महानगर र खानेपानी संस्थानबीच खानेपानी सेवा विस्तारका लागि समझदारी

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/fa116966-76f9-4f5b-a387-6b2753ca5b37.jpeg

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा लामो समयदेखि देखिएको खानेपानी अभाव र गुणस्तरहीनताको समस्या समाधान गर्न आज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । वीरगञ्जका बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो समझदारी भएको हो ।

महानगरका मेयर राजेशमान सिँहको पहल र खानेपानी मन्त्री प्रदिप यादवको सक्रियतामा भएको यस समझदारीमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले हस्ताक्षर गरेका छन् । यो समझदारी आजदेखि नै लागू भएको महानगरपालिकाले जनाएको छ ।

मेयर सिँहका अनुसार, यस समझदारीले महानगरपालिकाभित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरिएको छ । यसका प्राथमिक उद्देश्यहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानी समस्याको दीर्घकालीन समाधान, नयाँ खानेपानी जडान प्रक्रियालाई सरल बनाउने, र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा सुधार ल्याउने समावेश छन् ।

समझदारी पत्रअनुसार, नेपाल खानेपानी संस्थानले खानेपानी सेवा विस्तारको मुख्य जिम्मेवारी वहन गर्नेछ । यसमा नयाँ धारा जडान, पाइपलाइन विस्तार, मर्मतसम्भार, जनचेतना कार्यक्रम, र गुनासो समाधान जस्ता कार्यहरू पर्नेछन् । वीरगञ्ज महानगरपालिकाले भने मासिक हिसाब मिलाएर धरौटी बिल भुक्तानी गर्ने, सेवा शुल्कको व्यवस्था मिलाउने, र कानुनबारे संस्थानलाई जानकारी गराउने जस्ता कार्यमा सहयोग गर्नेछ ।

यो सम्झौता श्रावण १, २०८२ देखि २०८४ पौष मसान्तसम्म लागू हुनेछ र आवश्यकता अनुसार नवीकरण गर्न सकिनेछ । यसले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई पनि खानेपानीको सुविधा उपभोग गर्न सहज हुने विश्वास गरिएको छ । संस्थानले वीरगञ्ज शाखामा आवश्यक जनशक्ति वृद्धि गरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

मेयर सिँहले महानगरपालिकाले यस परियोजनाको सफल कार्यान्वयनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । खानेपानी मन्त्री प्रदिप यादवले चरम खानेपानी अभावको दीर्घकालीन समाधानका लागि यो महत्वपूर्ण कदम भएको विश्वास व्यक्त गरे। कुनै पनि विवाद उत्पन्न भएमा आपसी छलफलबाट समाधान गर्ने प्रावधान पनि समझदारी पत्रमा राखिएको छ ।

यस अवसरमा खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ र नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखाका प्रमुख प्रविण साह लगायत विभिन्न उच्च पदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।