Ad Image

मुस्ताङमा साहसिक साइकल ट्रेल तयार

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cycle trail.jpg

मुस्ताङ । मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार रु २० लाख बजेटमा जोमसोम–धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल निर्माण गरिएको हो ।

मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवद्र्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका लागि साइकल ट्रेल निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिए ।

साविकको पुरानो बाटोको स्तरोन्नति र नयाँ दुई किमी सडकमा ट्रयाक ओपन गरी ट्रेल निर्माण गरिएको हो । ट्रेल निर्माणका लागि सुक्खावाल, ग्याविन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुई वटा फलामे पुल बनाइएको छ । 

साहसिक पर्वतीय हाइअल्टिच्युड साइकल ट्रेल निर्माणसँगै यहाँ साइक्लिङ गर्न आउने पर्यटकले जोमसोम–कागबेनी सडकमार्ग प्रयोग नगरी धार्काजुङ हुँदै मुस्ताङ–डोल्पासम्मको छोटो यात्रा गर्न सक्नेछन् । 

“समुन्द्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र पर्वतीय उच्च उचाइमा बेग्लै अनुभव गर्न सक्नेछन्”, पौडेलले भने ।

उनका अनसुार ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, नेपाल–चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङको विभिन्न क्षेत्रको दृष्यावलोकन गर्न सक्नेछन् । साइकल ट्रेलमा यात्रा गर्नेले ढल्केडाँडाबाट नीलगिरि र धौलागिरि हिमाल, कालीगण्डकी करिडोर, स्याउ बगँैचा र जोमसोलगायत बस्ती पनि हेर्न सक्नेछन् ।