Ad Image

लहानका मुसहर बस्तीमा ट्याङ्करमार्फत खानेपानी वितरण

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/unnamed1617885065.jpg

सिरहा । लहान नगरपालिका–१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्दै जाँदा हाते कलधारा सुक्न थालेपछि दर्जनौँ परिवार पिउने पानीको अभावमा परेका हुन् ।

खानेपानीको समस्या समाधान गर्न युवाको सक्रियतामा डिभिजन वन कार्यालय लहानसँग समन्वय गरी ट्याङ्करमार्फत पानी वितरण गरिएको छ । शुक्रबार र शनिबार दुई दिनमा करिब १० हजार लिटर पानी बस्तीमा पुर्याइएको स्थानीय युवा ओमप्रकाश यादवले जानकारी दिए ।

उनले भने, “स्थानीय मुसहर बस्तीका बासिन्दाको पानीको अभावमा दैनिकी कष्टकर बन्दै गएको थियो । सरकारी योजना पर्खेर बस्नुभन्दा पहिले हामी आफैंँबाट पहल गर्न जरुरी लागेर ट्याङ्करको व्यवस्था गरेका हौँ ।” उनका अनुसार आज पनि बस्तीमा ट्याङ्करबाट खानेपानी वितरण गरिने छ । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विभागसँग पानी वितरणका लागि छुट्टै बजेट नहुँदा युवाको सक्रियता र बस्तीको आवश्यकता देखेर तत्काल राहतस्वरूप पानी पुर्याइएको हो । 

उनले भने, “हामीसँग यस्ता राहतका लागि छुट्टै बजेट छैन, तर यहाँका युवाको पहल र स्थानीय आवश्यकताका आधारमा विपन्न दलित बस्तीमा पानी पुर्याइएको हो । आवश्यक परे अन्य क्षेत्रमा पनि वितरण गर्नेछौँ ।”

स्थानीय राजनीतिककर्मी बालेश्वर यादवले बस्तीका प्रायः हातेपम्प सुकिसकेकाले समस्या बढ्दै गएको बताए । “ट्याङ्करले तत्काल राहत दिएको छ, तर दीर्घकालीन समाधानबिना यो समस्या बारम्बार दोहोरिनेछ”, उनले भने । 

तीनै तहका सरकारले खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।