कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरीले आफूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रूपमा पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
महामन्त्री डा. धवलशम्शेर राणालगायत आफ्ना समर्थक नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेर गिरीले उजुरी दर्ता गराएका हुन् । उनले पार्टीलाई प्रक्रियागत र विधानअनुसार चलाउन माग गर्दा आफूलाई अवैधानिक तरिकाले कारबाही गरिएको प्रतिक्रिया दिएका छन् ।
गिरीमाथि गरिएको कारबाही फिर्ता लिन राप्रपाभित्रकै इतर समूह तथा कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूले समेत अपिल गरेका छन् । यसअघि अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदी पनि आफ्नो कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका थिए ।