मुग्लिन–नारायणगढ सडकमा चलिरहेको कारमाथि ढुङ्गा खस्दा ३ जना घाइते


चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ को तुइन खोलामा चलिरहेको कारमाथि ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् ।
आज दिउँसो २ः२५ बजे भारतीय नम्बरप्लेटको यूपी ८० जीपी २९२८ नम्बरको कारमाथि माथिबाट ढुङ्गा खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कार चालक ४२ वर्षीय रतेन्द्र यादवको बायाँ हातमा चोट लागेको छ ।
अन्य दुई यात्रु, ३३ वर्षीय हर्मोन यादवको ढाडमा र ३५ वर्षीय हितेन्द्र यादवको हात र खुट्टामा चोट लागेको छ । प्रहरीले घाइतेहरूको अवस्था गम्भीर नरहेको जनाएको छ। उनीहरूलाई थप उपचारका लागि स्थानीय मेडिकल पठाइएको छ ।