मधेशमा भारी वर्षाको सम्भावना, सुक्खाग्रस्त क्षेत्रलाई राहत मिल्ने


काठमाडौं । रोपाइँको समयमा पानी नपरेर सुक्खाग्रस्त बनेको मधेश प्रदेशमा अब भने भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले अनुमान गरेका छन् । पानीको अभावका कारण मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गर्दै संघीय सरकारसँग सहयोगसमेत मागेको थियो ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, पछिल्लो २४ घण्टादेखि मधेसमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र आगामी दिनमा पनि सुक्खाको अवस्था नरहने सम्भावना छ । मनसुनी रेखा नेपाल नजिकै आएकाले मधेसमा वर्षा भइरहेको र जलवाष्पयुक्त हावा पहाडमा ठोक्किएर बादल बन्ने क्रमले पानी पर्ने उनले बताइन् ।
आज राति मधेसमा भारी वर्षाको सम्भावना रहेको कँडेलले जानकारी दिइन् । पानी नपरेका कारण आइतबारसम्म मधेसमा सबैभन्दा कम ४६.८३ प्रतिशत मात्र रोपाइँ भएको थियो। यो वर्षाले धान रोपाइँ र खानेपानीको अभाव झेलिरहेका मधेसवासीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।