Ad Image

सिरहा कारागारमा नाइके नियुक्तिको विवादमा झडप: अवैध असुलीको आशंका, सिडिओमाथि लेनदेनको आरोप

User Image मुकेशकुमार यादव | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sirhah karagar.jpg

सिरहा । जिल्ला सदरमुकाम सिराहास्थित कारागारमा आइतबार अपराह्न नाइके नियुक्तिको विषयलाई लिएर कैदीबन्दीहरूबीच भएको दोहोरो झडपमा १३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ) चेतराज बरालले जानकारी दिए ।

सप्रजिअ बरालका अनुसार, नाइके बनाउने विषयमा विवाद भएको प्रारम्भिक अनुमान छ । घटनाको थप सोधपुछका लागि प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागारमा खटिएको छ । 

घाइतेहरूको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको र गम्भीर अवस्थाका ४–५ जनालाई थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने उनले बताए । प्रहरी नायब उपरीक्षकसहितको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली प्रारम्भिक छानबिनका लागि कारागार पुगेको छ ।

क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशंकामा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा शनिबार बिहान सुरक्षाकर्मीको टोलीले कैदीबन्दीका कोठाहरूमा सर्च अपरेसन गरेको थियो । यो सर्च अपरेसनको भोलिपल्ट नै झडप भएको हो ।

कैदीबन्दीहरूले भने अवैध असुलीको विषयमा झडप भएको बताएका छन् । उनीहरूले विजय महतोसँग कारागार प्रशासन र प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले ३५ लाख लेनदेन गरेर आफूहरूमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।

साथै, उनीहरूलाई अन्यत्र सार्नका लागि समय–समयमा कुटपिट र दुःख दिने गरेको पनि उनीहरूको आरोप छ । यद्यपि, कारागार प्रमुख सुबोध महतोसँग यस विषयमा सम्पर्क हुन सकेन ।