Ad Image

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, नेताहरुलाई बोल्न तीन मिनेटको समय निर्धारण

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp-sharma-oli056-scaled.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदाबारे छलफल हुनेछ । 

बैठकको सुरुवातमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एकवर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्नेछन् । यसैगरी महासचिवले सांगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ । पार्टीको साउन १ गते बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ ।  

उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन् । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए ।