बंगलादेश विमान दुर्घटना : भारतले पठायाे विशेषज्ञ चिकित्सकको टोली


एजेन्सी । बंगलादेशको राजधानी ढाकामा हालै भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि भारतले एक विशेषज्ञ चिकित्सा टोली पठाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बुधबार सामाजिक सञ्जाल ’एक्स’ मार्फत यसको जानकारी दिए ।
टोलीमा दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालका दुई विशेषज्ञ र एक नर्सिङ सहायक समावेश छन् । जयसवालका अनुसार, जुलाई २१ मा ढाकामा भएको विमान दुर्घटनापछि बंगलादेशलाई सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको आश्वासनअनुसार यो टोली पठाइएको हो ।
बंगलादेश वायुसेनाको एफ–७ बीजीआई प्रशिक्षण विमान गत सोमबार राजधानी ढाकाको दियाबारी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । बीबीसी बंगलाका अनुसार, बंगलादेश सरकारले हालसम्म यस दुर्घटनामा २९ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ ।
Facebook Comments