वर्षमान पुन भन्छन्– राजनीतिमा ब्रान्ड भएपनि प्रचण्डले आफूलाई रूपान्तरण गर्नुपर्छ


काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको, परिवर्तनको ‘ब्रान्ड’ भएको बताएका छन् । शनिवार पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा पुनले आफूहरुले प्रचण्डलाई ब्रान्डका रूपमा स्थापित गरेको बताएका हुन् ।
उनले प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको समेत बताए । पुनले भने, ‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ । कमरेड प्रचण्ड परिवर्तनको, राजनीतिको ब्रान्ड हो । हामीले उहाँलाई ब्रान्डका रूपमा स्थापित गरेका छौँ । उहाँको ब्रान्ड भ्यालु राम्रो छ ।’
पुनले अध्यक्ष प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न भने गर्नुपर्ने बताए। पुनले पटक पटक मन्त्री, सांसद भएका र दशक अघिदेखि पार्टीको महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उम्किन नपाउने समेत बताए ।
उनले भने, ‘कमरेड प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न गर्नुपर्छ । साथै हामी दोस्रो तेस्रो तहका नेताहरू छौँ । अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौँ ।
दोस्रो तहका नेताहरूले पहिलो र पछिल्लो पुस्ताबीच समन्वय र सन्तुलन मिलाएर पार्टीलाई गतिशील बनाउने भूमिका खेल्नुपर्ने उपमहासचिव पुनको भनाई छ ।