Ad Image

‘कुलिङ पिरियड’ प्रकरण : तीन शीर्ष नेताको राय लिँदै छानबिन समिति

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli-deuba-prachanda.jpg

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवाद समाधानका लागि संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

समितिले तीनै नेतासँग ‘कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ?’ र ’यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ?’ भन्ने दुई प्रश्न सोध्ने तयारी गरेको छ । यसबाट प्राप्त जवाफहरू प्रतिवेदनमा समावेश गरी राष्ट्रिय सभालाई पनि सहयोग पुग्ने समितिको विश्वास छ ।

प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको यस विधेयकमा ‘कुलिङ पिरियड’ निष्क्रिय हुने प्रावधानमा प्रश्न उठेपछि असार २३ गते समिति गठन गरिएको थियो । राष्ट्रिय सभामा भने ‘कुलिङ पिरियड’को प्रावधान नै नराख्ने गरी संशोधन प्रस्तावहरू परेका छन्, जसमा सत्तारुढ दल एमालेकै सांसदहरू पनि छन् ।

सभामुख देवराज घिमिरेले दिएको २१ दिनको समय अपुग भएपछि गत शुक्रबार समितिले थप सात दिनको समय पाएको छ । अब साउन १९ गतेसम्म समितिले आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा कांग्रेस र एमालेबाट दुई–दुई जना तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना सदस्य छन् ।