Ad Image

कर्णालीका अर्थमन्त्री शाहमाथि आर्थिक हिनामिनाको आरोप

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rajeev bikram shahi.jpg

काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहमाथि गम्भीर आर्थिक हिनामिनाको आरोप लागेको छ । एथलेटिक्स सङ्घका ६ जना सदस्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहले सङ्घको अध्यक्ष हुँदा विभिन्न प्रतियोगिताहरूमा अनियमितता गरेको दाबी गरेका हुन् ।

उनीहरूका अनुसार, शाहले १६ औँ एसियन क्रसकन्ट्री दौड प्रतियोगितामा एसियन एथलेटिक्स सङ्घबाट प्राप्त १८ हजार अमेरिकी डलर एकलौटी खर्च गरेको, डलरमै भुक्तानी दिएर राजस्व छलेको र प्रतियोगिताका सामग्रीहरू आफ्नै घरमा राखेको आरोप छ ।

सङ्घका केन्द्रीय सदस्य दिपक रानाभाटले विश्व एथलेटिक्सका संस्थापक अध्यक्ष नेपाल भ्रमणमा आउँदा भूकम्प पीडितलाई दिने भनिएको ३ हजार पाउण्ड शाहले आफैँ राखेको र त्यसको खर्च विवरण सार्वजनिक नगरेको आरोप लगाए । 

बागमती प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्य सचिव सूर्यलाल भण्डारीले २०७९ सालमा चितवनमा भएको जुनियर एथलेटिक्स प्रतियोगितामा पनि शाहले हिनामिना गरेको र विदेशी सहायतामा प्रतियोगिता गरेको रिपोर्ट बुझाएको आरोप लगाएका छन् ।