सिन्धुलीमा भयावह सडक दुर्घटना : एक वर्षमा ३० जनाको मृ*त्यु


सिन्धुली । सिन्धुली जिल्लामा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ । २०८१ साउनदेखि हालसम्मको एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने ५२२ जना घाइते भएका छन्, जसमध्ये कतिपय जीवनभरका लागि अपाङ्ग बनेका छन् । यो अवधिमा जिल्लामा २०० भन्दा बढी दुर्घटना भएका छन् ।
हालै शनिबार बिहानै सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शीतलपाटीमा बिपी राजमार्गबाट एउटा योद्धा पिकअप ५०० मिटर तल खस्दा मकवानपुरका धर्मराज रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक गम्भीर घाइते भएका छन् । दुई महिनाअघि मदन भण्डारी राजमार्गमा १० वर्षीय मन्देश सदाको कारको ठक्करबाट ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कअनुसार, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग गरी तीन प्रमुख राष्ट्रिय मार्गको सङ्गमस्थल सिन्धुलीमा सबैभन्दा धेरै दुर्घटना बिपी राजमार्गमा भएका छन् ।
गत वर्ष बिपी राजमार्गमा मात्रै ८२ दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२३ जना घाइते भएका थिए । यस्तै, मदन भण्डारी राजमार्गमा ७८ दुर्घटनामा १४ जनाको ज्यान गएको र २०८ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमले चालकको असावधानी, तीव्र गति, ट्राफिक नियमको बेवास्ता, आवश्यक प्रविधिको अभाव र स्थानीय जनचेतनाको कमीलाई दुर्घटनाको मुख्य कारण बताएका छन् ।
साँघुरा सडकमा पराल सुकाउने, बिस्कुन राख्ने र पैदलयात्रीले जथाभावी सडक पार गर्दा पनि जोखिम बढेको छ । सडक सुरक्षाका लागि कानुनी कार्यान्वयनसँगै सामाजिक चेतना फैलाउनु जरुरी देखिन्छ ।