गोलञ्जोरमा बाख्रा, कुखुरा, भैँसी अलपत्र छाडेर एकै परिवारका १६ जना बेपत्ता


काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ को छेत्पा नजिकै भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जनाको परिवार गएको शुक्रबारबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
सिन्धुली जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले छिमेकीले दिएको हायुको परिवारको सम्पर्क नम्बरको लोकेशन हेर्दा रामेछाप देखाएको तर नम्बर सही वा गलत के हो भन्ने जानकारी नभएको बताए ।
उनले घटनाबारे बुझ्न प्रहरीको टोली सम्बन्धित स्थानमा पुगेको जानकारी दिए । जिल्ला प्रहरी प्रमुख सुवेदीका अनुसार कुनै विपदले घटना भएजस्तो नदेखिए पनि १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन हुनु आश्चर्यजनक देखिन्छ ।
घरमा सामान्य क्षति भएको र बाख्रा, कुखुरा, भैसी अलपत्र अवस्थामा रहेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले घटनाबारे छानबिन गरिरहेको जनाएको छ ।