एमसीसी परियोजनाले निरन्तरता पाउने, अर्थ मन्त्रालयलाई पत्र प्राप्त


काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार, एमसीसीको साउन ८ गतेको पत्रमार्फत यो जानकारी प्राप्त भएको हो ।
अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, २०७४ भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गते अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो ।
तर, साउन ८ गते कार्यक्रम पुनरावलोकन भई नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ । यससँगै एमसीसीका परियोजनाहरू पुनः अगाडि बढ्ने भएका छन् ।