Ad Image

ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ds-galeshower- khadga bhawani kotma aantarik paryatak.jpeg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ६०० वर्ष पुरानो ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकहरूको नयाँ गन्तव्य बनेको छ ।

गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका, पुरातत्व विभाग र अन्य निकायको कुल १ करोड १० लाख रुपैयाँभन्दा बढीको लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि पर्यटकको संख्या बढेको हो ।

कोतमा मन्दिर, पदमार्ग, तारबार, र पटाङ्गिनीलगायतका पूर्वाधारहरू निर्माण गरिएका छन् । सापकोटा बन्धु र बगाले थापाहरूले पनि मन्दिरहरू निर्माण गरेका छन् । अध्यक्ष पूर्णबहादुर सुवेदीका अनुसार, पटाङ्गिनीमा स्लेट ढुंगा बिछ्याइएको छ ।

वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार, कोत परिसरको हरियाली र उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गर्छ । यहाँबाट दक्षिणतर्फ बागलुङको पञ्चकोट पनि देख्न सकिन्छ ।

विसं १२४६ देखि १५४५ सम्म थापा खलकले राज्य गरेको ज्यामरुककोटस्थित ४२ रोपनी क्षेत्रफलमा फैलिएको यस कोत परिसरमा मल्लकालीन इतिहासका तोप, खुँडा, तरबार, प्राचीन शिला, खजाना लुकाउने ठाउँ र राजकुवा जस्ता ऐतिहासिक प्रमाणहरू छन् ।

बेनी नगरपालिका र वडा कार्यालयको बजेटबाट घेराबार, बाटो ढलान, पटाङ्गिनी मर्मत लगायतका काम भइरहेका छन् । वडाध्यक्ष कार्कीले खड्गभवानी कोतलाई धार्मिक पर्यटकीय धाम बनाउने योजना रहेको बताए ।