ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा


सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।
बास्थला गाउँभन्दा करिब ३–४ किलोमिटर माथि, बाक्लो जङ्गलको बीचमा रहेको यो पोखरी करिब ११ मिटर लामो, ६ मिटर चौडा र ३ मिटर गहिरो छ र वर्षभरि कहिल्यै सुक्दैन ।
स्थानीय कुवेर राईका अनुसार, यो पोखरीमा साक्षात् देवताको वास रहेको विश्वास गरिन्छ । राई, कुलुङ र मेवाहाङ समुदायले मबहान पर्वका अवसरमा पूजाआजा गर्ने गर्छन् । नागदेवतासँग सम्बन्धित मान्यताका कारण यहाँ बलि वा कुनै हिंसात्मक कार्य निषेध गरिएको छ ।
स्थानीय धनराज राईका अनुसार, धार्मिक र पर्यटकीय रूपमा यसको विकास गर्ने प्रयास भइरहेको छ । गाउँलेको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पोखरीसम्मको बाटो मर्मत गरिएको छ भने भक्तजनका लागि प्रतीक्षालय निर्माण भइसकेको छ ।