थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम वार्ता सुरु

No Author Assigned | २०८२ साउन १२ गते ०३:५०
Image of https://mayorsap.com/storage/photos/10/cobodia-thailand.jpg

काठमाडौं । थाइल्यान्ड र कम्बोडियाको जङ्गलले घेरिएको सीमा क्षेत्रमा पाँच दिनदेखि जारी लडाइँपछि युद्धविराम खोज्दै दुवै मुलुकका नेताहरूले सोमबार मलेसियामा शान्ति वार्ता सुरु गरेका छन् । यो द्वन्द्वमा दुवै पक्षका कम्तीमा ३५ जना मारिएका छन् भने दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

विवादित क्षेत्रमा प्राचीन मन्दिरहरूको समूह रहेको र सन् १९०७ मा फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण यो विवाद बढेको हो । सन् २००८ देखि २०११ को हिंसापछिको यो सबैभन्दा घातक घटना हो ।

वार्ता सुरु हुनुअघि पनि सीमा क्षेत्रमा विस्फोटका आवाज सुनिएको रिपोर्ट आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेप गर्दै दुवै पक्षलाई छिट्टै समाधान गर्न आग्रह गरेका छन्, किनकि दुवै राष्ट्र ट्रम्पसामु व्यापारिक सम्झौताका लागि अनुरोध गरिरहेका छन् ।

थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निवासमा वार्ता सुरु गरेका छन् । इब्राहिमले तत्काल युद्धविराममा ध्यान केन्द्रित गर्ने बताएका छन् । वासिङ्टनका कूटनीतिज्ञ र चीनको प्रतिनिधिमण्डल पनि शान्ति प्रयासमा सहयोग गर्न उपस्थित छन् ।

वार्ताको पूर्वसन्ध्यामा पनि दुवै देशले एकअर्कामाथि गोलीबारी र आक्रमणको आरोप लगाएका छन् । थाइल्यान्डले आफ्ना ८ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ भने कम्बोडियाले ८ सर्वसाधारण र ५ सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । थाइल्यान्डले आफ्ना नागरिकहरूलाई कम्बोडियाली आप्रवासीविरुद्ध कुनै पनि हिंसाबाट टाढा रहन चेतावनी दिएको छ ।


Facebook Comments