प्रतिनिधिसभामा महिला सांसद समन्वय समिति गठन गर्न आग्रह


काठमाडौं । प्रतिनिधिसभामा महिला सांसद समन्वय समिति गठनका लागि विभिन्न राजनीतिक दलका महिला सांसदहरूले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष सहयोगको आग्रह गरेका छन् ।
आज मन्त्री राणालाई भेट्दै प्रमुख राजनीतिक दलका सचेतकसहितका महिला सांसदहरूले यो समिति स्थापना गर्न सरकारबाट समन्वय र सहयोगको माग गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीमा महिलाको एक समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा हुँदा पनि यो समिति गठन हुन सकेको छैन । यही कारण सरकार र संसद्लाई दबाब दिन उनीहरूले आग्रह गरेका हुन् ।
भेटघाटमा मन्त्री राणाले विगतमा पनि महिला अधिकारका क्षेत्रमा महिला सांसदहरूको एकताले उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा पनि यो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
नियमावलीमा भएको व्यवस्था अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद् रहेको बताउँदै उनले समिति गठनका लागि सबै दलका महिला सांसदको ऐक्यबद्धता आवश्यक रहेको र आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाइन् ।