Ad Image

चितवनमा एक वर्षमा ३८३ उद्योग बन्द

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhutsansar1706595026.png

चितवन । चितवनमा उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षको अवधिमा बन्द भएका छन् ।

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार, बन्द भएका उद्योगमध्ये सबैभन्दा बढी १९९ वटा कृषिमूलक उद्योग रहेका छन्। यसबाहेक उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ उद्योग पनि बन्द भएका छन् ।

सोही अवधिमा ३३१ वटा नयाँ उद्योग दर्ता भएका छन्, जसमा कृषिमूलक १४०, सेवामूलक ११४, उत्पादनमूलक ६२ र पर्यटनमूलक १५ उद्योग थपिएका छन् । जिल्लामा रहेका कुल उद्योगमध्ये २,३९० वटा नवीकरण भएका छन्, जसमध्ये ११८ वटाले पुँजी वृद्धि गरेका छन् भने आठ वटाले स्तर परिवर्तन गरेका छन् ।

वाणिज्यतर्फ पनि ५२४ वटा व्यवसाय बन्द भएका छन् भने ३७७ वटा नयाँ दर्ता भएका छन्। तीन हजार १११ वटा व्यवसाय नवीकरण भएका छन् । कुमालले उच्च शिक्षाका लागि विदेशिनेको सङ्ख्या बढ्नु र उद्योग बन्द गर्न पाँच वर्ष पर्खिनुपर्ने व्यवस्थाले पनि उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको बताए ।